कामी भन, तर बिभेद नगर
रुपा सुनार
मनमा काँडा झैँ बिजेर बसेको थियो, केहि समय अगाडीको कुरा । घरी घरी याद आइ रहन्छ, मेरो मानसपटलमा र केही बेर टाेलाएर सोच्ने गर्छु । घटना यस्तो थियो…
एउटा कार्यक्रममा म गजल वाचन गरेर मञ्चबाट तल आउँदै थिए, छेउका केही मानिसहरूले मेरै कुरा गरिरहेको आवास भयो । कान टाँठो बनाए, साँच्चै मेरै कुरा भर्इ रहेको रैछ । आफ्नै सुरमा बसे झै गरि कान ठाडो पारेर एकछिन उनीहरुको कुराकानी सुने ।
‘यही केटि हो नी अघि गजल भनेकी, मान्छे पनि राम्री कति टाँठी अनि कति मिठो गजल भनेकी’ एउटी आन्टीले भन्दै हुनुहुन्थ्यो । अर्को आन्टीले त्यसमै थपिहाल्नु भयो, ‘त्यै त कसकी छोरी रैछे ? टाँठी रैछे ।’ जवाफमा अर्को आन्टीले भन्नुभयो ‘फलना कामीको छोरी होनी ।’ आश्चर्य माने जस्तो अनुहार बनाउदै अर्को आन्टीले भन्नुभयो, ‘होर ? यति टाँठी अनि राम्री पनि कामीकी छोरी पो रैछे है । विचरी जति टाँठी भएपनि क्यारोस कामीको छोरी न परिछ ।’ अर्धबैश उमेरका ४/५ जना महिलाको समुहबाट यस्तो सुने पछि एकछिन मन खिन्न भयो ।
मनमनै धेरै कुरा सोचे । मलाई लाग्थ्यो समय बदलिए संगै हाम्रो समाज पनि बदलिदै गएको छ । मानिसहरुको नकरात्मक सोच पनि बदलिदै गएको छ । लाग्थ्यो, समाजले तल्लो जातिको दर्जा दिएको हामी दलितहरु प्रति हेर्ने नजर बदलिएको छ ।तर होइन रहेछ सोच बदलिएको त कानुन र भाषणमा मात्र रहेछ । साँच्चै हामी दलित समुदायप्रति ठुला जातका वर्गले हेप्नुमा या भनौ हामी पछाडी पर्नुमा र हामीलाई एकदमै तल्लो दर्जाको सोच्नुमा समाजको सोचनीय दोष हो या हाम्रो आफ्नै कमजोरी ?
यो विषयमा मैले धेरै पटक नसोचेको पनि हैन । जातिय छुवाछुतका विरुद्ध आन्दोलनहरु नभएका पनि हैनन् । थुप्रै आन्दोलनहरु पश्चात भेदभावमा भएकाे कमीलार्इ सकारात्मक उपलब्धी मान्नैपर्छ । मानिसहरुको सोचमा परिवर्तन नअाएकाे पनि हैन् । काेही सचेत भएर विभेदका विरूद्ध लागेका छन् त काेही कानुनी डरले । कतिपय त अझ दलितलाई समान साेचेर नभर्इ छुवाछुत कानुनी कारवार्हीकै भरमा देखावटी रूपमा समानता देखाउँछन् । मैले खोजेको परिर्वतन यो होइन की मानिसहरु कानुनको डरले दलितप्रतिको बिभेद कम गरुन ।
मेराे धेर्य त्याे हाेइन की, समाजमा कामी, दमाइ, सार्की नभनुन । म त्यति मात्र चाहान्छु की, जातको नाउँमा बिभेद नगरियोस, मानिसहरु कानुनको डरले हैन समानताले एक–अर्कालार्इ सम्मान गरून । धर्तीमा दुई जात छन्, महिला र पुरुष । सबै समान हौ भन्ने सोच मानिसहरुमा चाँडै आओस, यो नै हो मैले चोहेको परिवर्तन । अहिलेकाे समयकाे अावश्यकता ।
दलित भन्ने वितिकै नराम्रो, फोहोरी, नपढेको मात्र हुन्छन् भन्ने सोच बढल्नुपर्छ मानिसले । सुकिला मुकिला देख्नै वितिकै’तिमी साँच्चै दलित हो र? सानो जात जस्तो त कति पनि देखिदैन ।’ भन्न छोडियोस । यो प्रसङ्ग मैले किन यहाँ जोड्दै छु भने, ‘मैले मलार्इ दलित भनेर भन्दा नपात्याएर उल्टै बाबा आमा दुबै जना सुनार त हैन होला नि ? मिक्स होला’ भनेको सम्म भोग्दै आएकी छु ।
अझ कतिले त यस्तो सम्म पनि भनेका छन् कि तिमी सुनार हैन सुनारहरुले यति खुलेर काँह बाेल्छन्, तल्लो जातिहरु त आफ्नो जात भन्नै डराउँछन् । मलाई लाग्छ हामी दलित समुदायको कमजोरी यहिनेर छ, हामी खुलेर अगाडी आउन सक्दैनौ, अाफ्नो परिचय दिन सक्दैनाै । हामी आफ्नो जात प्रति गर्व गर्दैनौ जसरी अन्य तथा जनजाती समुदायले गर्छन । जातिय विभेदको घेरालाई नाघेर, खुलेर आफ्नो पहिचान हामी दिदैनौ त्यसकारण पनि हामी पछाडी परेका हाै। कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौ कि म फलना वि.क हुँ भनेर । सामाजिक संजालहरुमा पनि आफनो नाम थर खुलाएर राख्दैनौ । हामीले यसरी आफ्नो परिचय नदिदाँ अरुले हैन हामी आफैले आफैलाई सानो सम्झिएका छाै, आफ्नो जात प्रति गर्व नभएको जस्तो देखिन्छ । अर्काकाे नकारात्मक कुरालार्इ उठाउनु भन्दा पहिला अाफ्नो बिचारमा सुधार ल्याउनु पर्छ । तसर्थ कसैले नाम सोध्दा ढुक्क भएर म फलानो (वि.क, नेपाली, परियार) भनेर थर खुलाउन सक्नुपर्छ । ढुक्क भएर भन्न सकौ कि, ‘मलाई दलित हुँ तर दलितको नाउँमा विभेद नगर ।’
मैले अनुभव गरेकाे अनुभुतीबाट शुरू गरेकाे याे लेख पढिरहँदा समाजले ठुला जातको दर्जामा राखिदिएपनि सबै जात, वर्गलाई समान सम्झेर जातिया विभेदको घेरा तोड्न सहयोग गर्ने केही साथीहरुको मन दुख्न सक्छ । तर अझै पनि ८० प्रतिशत मानिसहरुको सोचमा परिवर्तन आएको छैन । जसले गर्दा दलितहरुले विभेदका समस्याहरु खेप्दै आएका छन् । हामी सबैले अा–आफनो ठाँउबाट सकारात्मक साेच राख्दै बिभेद बिरूद्ध जुट्ने हाे भने छिट्टै भेदभाव मुक्त समाज बन्नेछ । नेपालमा पनि जातिया छुवाछुत हुन्थ्यो रे भन्ने कुरा इतिहासमा मात्र रहोस्। साँच्चै म त्यहि दिनको पर्खाइमा छु ।
- See more at: http://khabarbatika.com/rupa-sunar/#sthash.RBS73zzK.3lDgyudQ.dpuf
No comments:
Post a Comment