Tuesday, 23 August 2016


भारतका पूर्व विदेश सचिव एमके रसगोत्राले हालै लेखेको पुस्तकमा भुटानसम्बन्धी चर्चालाई लिएर यो साता विवाद उत्पन्न भएको थियो। भुटानकी मुमा बडामहारानीले पुस्तकमा उल्लिखित तथ्यमा अापत्ति प्रकट गरेपछि यसलाई लिएर धेरैमा जिज्ञासा उत्पन्न भएको थियो। मुमा बडामहारानीका भाइ एवं तत्कालीन प्रधानमन्त्री लेन्डुप दोर्जीले राजा जिग्मे वाङ्चुकलाई हटाउन भारतसँग अनुराेध गरेको भनेर लेखिएको सन्दर्भ विवादमा अाएको हो। 
भुटानी प्रधानमन्त्री जिग्मे दोर्जीको फुन्चोलिङमा हत्या हुँदा उनका कान्छा भाइ लेन्डुप अर्थात् लेनी दोर्जी भुटानमै थिए। लेन्डुप मेरो सानैदेखिको साथी। म देहरादुको कर्नल ब्राउन स्कुल छाडेर सन् १९४८ मा दार्जिलिङको नर्थ प्वाइन्टमा ४ कक्षामा भर्ना हुँदा लेन्डुप मभन्दा एक कक्षा मात्र माथि थिए। निकै मिलनसार। उनलाई त्यतिबेला पढाइभन्दा खेलमा बढी चासो थियो। त्यसैले हाम्रो ‘टयुनिङ’ मिल्थ्यो। 
भुटानका तेस्रो राजा जिग्मे वाङ्चुककी महारानी आसी केसाङ छोदेनको कान्छो भाइ भएका कारण पनि लेन्डुपलाई स्कुलमा खासै कुनै समस्या भएन। उनी अर्को वर्ष फेल भए। त्यसपछि मसँगै एउटै कक्षामा। यसले हामीलाई झन् नजिकै ल्यायो। 
लेन्डुपका ठूला दाजु प्रधानमन्त्री जिग्मे भुटानमा निकै लोकप्रिय थिए। उनको कार्यकालमा भुटानमा सुधारको थुप्रै काम भएको थियो। तर, जिग्मेको हत्यासँगै भुटानमा नेतृत्वमा संकट देखापर्यो। प्रधानमन्त्री जिग्मेको फुन्चोलिङमा हत्या हुँदा राजा वान्चुक पनि भुटानमा थिएनन्। उनी क्यान्सर उपचार गराउन स्वीट्जरल्यान्ड गएका थिए। त्यसैले जिग्मेको ठाउँमा लेन्डुपले अन्तरिम प्रधानमन्त्रीको कार्यभार सम्हाले। 
भुटानको अन्तरिम प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुपूर्व लेन्डुप अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातक सकेर भुटान फर्किसकेका थिए। उनी र मैले १९५३ मा नर्थ प्वाइन्टबाट सिनियर क्याम्ब्रिज गरेका थियौं। उनलाई अर्को वर्ष दाजु जिग्मेले पढ्न अमेरिका पठाएका थिए। लेन्डुप अमेरिकाको विश्वविद्यालय पढ्ने पहिलो भुटानी हुन्। स्कुलमा हामी उनलाई लेन्डुप भनेर चिन्थ्यौं। तर, अमेरिका पुगेपछि उनको नाम नै परिवर्तन भएछ। अमेरिकीहरूलाई उनको नाम निकै गाह्रो लाग्ने रहेछ, त्यसैले उनीहरूले नै लेन्डुपको नामकरण गरिदिएछन्- लेनी दोर्जी। 
भुटानका पूर्व नरेश जिग्मे सिग्मे वान्चुक (जिपमा बसेका)सँग पूर्व कार्यवाहक प्रधानमन्त्री लेनी दाेर्जी (उभिएका)।

लेनीसँग १९५३ मा स्कुलबाट छुट्टिएपछि लामो समय भेट भएन। उनी पढ्न अमेरिका उडे। म नेपाल फर्के। दाजु जिग्मेसँग सन् १९५६ (२०१३ साल) मा राजा महेन्द्रको राज्याभिषेकको बेला काठमाडौंमा भेट हुँदा लेनीको विषयमा खोजखबर गर्नेबाहेक मसँग अर्को विकल्प थिएन। तर, नोकरीका लागि १९६३ मा भारतको कोलकाता पुग्दा उनीसँग भेट भयो। त्यतिबेला दाजु जिग्मेले उनलाई सरकारी जागिर मात्र होइन, विस्तारै राजनीति पनि सिकाउँदै थिए। तर, दाजुको अप्रत्यासित हत्याले उनलाई निकै बिचलित तुल्याएको थियो। कोलकाताबाट प्लेन चढेर जिग्मेको अन्तिम शवयात्रामा म फुन्चोलिङ पुग्दा उनी पनि त्यहीँ थिए। माइलो दाजु युगेनले लास भुटान लिएर गएपछि लेनी मसँगै कोलकाता फर्किए। 
***
युगेनलाई १९६३ तिरै कोलकातामा भेट्दा मैले एउटा जिज्ञासा राखेको थिएँ– तिम्रो रानी दिदीसँग अपर्झट भेट भयो भने मैले के गरेर अभिवादन गर्ने? किनभने नेपालमा नमस्कार गर्दा पुग्छ। 
उनले उत्तर दिए- केही गर्नु पर्दैन। मुखबाट जिब्रो निकाल्ने र हात महारानीको अगाडि देखाउने।
म छक्क परेँ। कहीँ रानीलाई भेट्दा कसैले मुख खुल्ला पारेर जिब्रो देखाउँछ? तर, उनले यो गर्नुको पछाडिको कहानी सुनाए। दलाई लामाको विषयमा धेरै पहिले भविष्यवाणी गरिएको रहेछ– उनलाई कसैले मार्छ भने कालो जिब्रो भएको मान्छेले। त्यसैले भुटानमा चलनै रहेछ, राजपरिवारका सदस्यलाई दर्शन गर्न जाने मान्छेले आफ्नो जिब्रो कालो छैन र हातमा हतियार पनि छैन भनेर आश्वस्त तुल्याउने। 
***
जे होस्, लेनी भुटानको अन्तरिम प्रधानमन्त्री हुँदा कोलकातामा मेरो भेट हलिउड नायिका सेर्ली म्याकलेनसँग पनि भयो। उनी भुटानबारे किताब लेख्न अमेरिकाबाट आएकी रहिछन्। उनीसँग मेरो भेट मार्टिन सार्किजले आफ्नै घरमा गराइदिएका थिए। मार्टिन त्यतिबेला कोलकाताका तीन नामुद सिनेमा हल लाइटहाउस, न्यू एम्पायर र टाइगरको जिएम थिए। यी तीनै हल त्यतिबेला लिजमा दिइएको थियो। त्यसमध्ये लाइटहाउस र न्यू एम्पायर मेरो काका महावीर शमशेरको थियो। त्यसैले मार्टिनसँग मेरो चिनजान पुरानै थियो। ओस्कर अवार्डबाट सम्मानित सेर्लीले लेनी भुटानमै हुँदा भुटानबारे आफ्नो चर्चित पुस्तक ‘डन्ट फल अफ दि माउन्टेन’ लेखेकी थिइन्। 
दाजु जिग्मेको हत्यापछि भुटानमा थुप्रै गडबडी सुरू भयो। उग्र गतिविधि सल्किसकेको थियो। १९६५ मै राजनीतिक अस्थिरताका कारण लेनीले एक्कासि भुटान छोड्नुपर्यो। त्यतिबेला उनी मात्र होइन, दिदी टासी र भुटानका तत्कालीन ‘कमिस्नर’ आर्डी लामा पनि निर्वासित भए। 
लेनी केही समयका लागि बेलायत गएर बसे। त्यहाँ उनका एक जना करोडपति साथी थिए, जोन्सन चार्ल्स। लेनी क्यानसरबाट मर्नुअघि अमेरिकाको न्युयोर्कमा उपचार गराउनेदेखि बर्मुडामा केही समय स्वास्थ्यलाभ गर्न यही बेलायती साथीले सघाएका थिए। 
पछि राजा महेन्द्रले उनलाई राजनीतिक शरणार्थीको रूपमा नेपाल बस्ने मान्यता दिए। र, उनी काठमाडौं फर्किए। 
सन् १९६५ मा म कोलकातामै थिएँ। एक दिन लेनीकी श्रीमती ग्लान्डाले खबर सुनाइन्, ‘ए शक्ति, लेनीले नेपालमा राजा महेन्द्रका भाइ हिमालयसँग मिलेर होटल सोल्टीमा क्यासिनो खोल्दैछ रे!’ म अचम्ममा परेँ। नेपालमा पहिलो पल्ट क्यासिनो खुल्दैथियो। ग्लान्डा एङ्लो इन्डियन थिइन्। त्यसैले उनलाई श्रीमानको निर्वासनमा पनि कोलकाता बस्न भारत सरकारले गाह्रो बनाएको थिएन। 
तर, उनी नेपालमा राजनीतिक शरणार्थी भएर बस्न आए। 
***
म त्यतिबेला कोलकातामा जागिरे थिएँ। त्यसैले काठमाडौं फर्केका लेनीसँग भेट हुने कुरा भएन। यस्तैमा १९७० मा तत्कालीन युवराज वीरेन्द्रको बिहे तय भयो। मेरो श्रीमतीलाई राजपरिवारको बिहे हेर्ने ठूलो रहर रहेछ। अब उनले दिनहुँ कचकच गर्न थालिन्। म पनि नेपाल नफर्किएको धेरै भइसकेको थियो। एकपल्ट काठमाडौं आउन मन लाग्यो। यतिबेला युवराज वीरेन्द्रको बिहेका लागि भनेर विदेशबाट दुईटा मर्सिडिज गाडी मगाइएको रहेछ। चार वटा ढोका भएको लामो गाडी। खासमा यी गाडी भारतीय राष्ट्रपति वाराहगिरी वैंकट(भिभी) गिरी र सिंगापुरका राष्ट्रपतिका लागि मगाइएको थियो। यी दुबै यति मोटा थिए, नेपालमा भएको गाडीको ढोकाबाट छिर्नै गाह्रो पर्थ्यो। 
गाडीको ‘डेलिभरी’ लिन शुभशमशेर थापा कोलकाता पुगेका थिए। उनले नै मलाई भने– जाने भए हिँड, काठमाडौं। गाडी खाली छ। 
मैले नाइँ कसरी भन्ने? आफूलाई कुनै पनि हालतमा काठमाडौं पुग्नुपर्ने थियो। उनीसँगै सपरिवार त्यही गाडी चढेर काठमाडौं आइपुगेँ। काठमाडौं पुग्न दुई दिन लाग्यो। 
काठमाडौंमा मेरो भेट फेरि भयो, लेनी दोर्जीसँग। तर, यतिबेला घरमा नभएर टुँडिखेलको क्रिकेट मैदानमा। म क्रिकेटको ठूलै पागल थिएँ। काठमाडौं खेल मण्डल (केकेएम)ले म आएको थाहा पाएपछि मलाई आफ्नो क्लबबाट खेल्न टुँडिखेल बोलायो। मलाई प्रतिद्वन्द्वी टोलीबारे थाहा थिएन। त्यो टोली त लेनीको रहेछ। उनले काठमाडौं आएपछि जेन्टलम्यान क्रिकेट क्लबको नाममा आफ्नो छुट्टै क्लब दर्ता गरेका रहेछन्। मलाई देख्नेबित्तिकै दंग परे। भने, ‘शक्ति, काँ त्यो टोलीबाट खेल्न लागेको? हाम्रो यति गहिरो दोस्ती छ। ल आऊ, मेरो टोलीबाट खेल।’
अब मलाई पर्यो आपत! उनीसँग सानैदेखिको दोस्ती। नखेलौं भने रिसाउला। खेलौं भने केकेएमका साथीहरू रिसाउलान्। नर्थ प्वान्टमा पढ्दा म स्कुलको क्रिकेट टिमको कप्तान थिएँ। त्यसैले उनको कुरा टाल्न सकिनँ। जेसुकै होस् भनेर टिम बदलेर लेनीकोबाट खेलिदिएँ। म काठमाडौं फर्कंदा लेनीले क्यासिनो जमाइसकेको थियो। उसको स्वभाव नै ‘प्ले–ब्वाई’ जस्तो। 
खासमा म काठमाडौं आएको थिएँ, युवराज वीरेन्द्रको बिहे हेर्न। तर, यहाँ लेनीदेखि सबै पुराना साथीभाइ देखेपछि मलाई कोलकाता फर्किन मन लागेन। त्यसपछि लेनी र मेरो खुब जम्यो। उनी त्यतिबेला त्रिभुवन विश्वविद्यालयका उपकुलपति त्रैलोक्यनाथ उप्रेतीको सोल्टीमोडस्थित रबि भवनको पछाडि बस्थे। दिदी टासी पनि उनीसँगै बस्थिन्। दाजु जिग्मे प्रधानमन्त्री हुँदा दिदी टासी भुटानको शिक्षामन्त्री थिइन्। उनी पनि निर्वासनमै काठमाडौं आएकी थिइन्। टासी शिक्षामन्त्री हुँदा दावा उनको ‘सेक्रेटरी’ थिए। पछि दावाले दक्षिण एसियामै सबैभन्दा लामो विदेशमन्त्री बन्ने इतिहास बनाए। 
***
लेनीले क्यासिनो चलाउन विदेशबाटै मान्छे झिकाएका थिए। लामो समय काम गर्नेमा एल म्याडक थिए। १९७४ मा भुटान सरकारले घर फिर्तीका लागि उनीहरूलाई बोलायो। त्यतिबेला जिग्मे वान्चुकको मृत्यु भइसकेको थियो। उनको ठाउँमा लेनीकै भान्जा जिग्मे सिग्मे वान्चुक राजा बनिसकेका थिए। लेनी भुटान फर्केपछि फेरि मेरो भेट उनीसँग लामो समय भएन। एकपल्ट साथीभाइ भेट्न नेपाल आएका थिए। उनीसँग अन्तिम भेट कोलकातामै भयो। मैले उनलाई घाँटीमा क्यान्सर भएको थाहा पाएर २००४ मा हेर्न जाँदा कोलकाताको बालिगन्जस्थित टिबोरी कोटमा बसेको थियो। उनको त्यहीँ ५ नम्बरको फ्ल्याट थियो। घाँटीमा पाइप हालेर मसँग बोले। म त्यहाँ आएको थाहा पाएपछि दिदी टासी पनि हतार–हतार मलाई भेटन आइपुगिन्। टासीले आजीवन बिहे गरिनन्। 
लेनीले २००७ अप्रिल ७ मा, ७१ वर्षको उमेरमा थिम्पुस्थित घरमा प्राण त्यागे। उनको मृत्यु भएको खबर मैले फोनबाट पाएँ। लेनी देशभक्त थिए। उनी आफू अन्तरिम प्रधानमन्त्री हुँदा दाजुको लोकप्रिय कार्यक्रमलाई अझ बढी प्रभावकारी ढंगले लागू गर्न चाहन्थे। उनी हस्तक्षेपमुक्त भुटान चाहन्थे। यहीँ कारण उनले नेपालमा नौ वर्ष शरणार्थीको जीवन बिताउनुपर्यो।  
(८३ वर्षीय राणाले नवीन अर्यालसँग गरेको कुराकानीमा आधारित)  

No comments:

Post a Comment