साथी ! अमेरिकामा डलरको खेती हुँदैन
सरगम भट्टराई
सामाजिक सञ्जालमा केही लेख्यो कि अमेरिका बसेर नेपालको बारेमा अनर्थमा बोलेको भनेर सत्तोस्राप गर्छन् मान्छेहरु अचेल । तर आफू जन्मेको, खेलेको र झेलेको मेरो देशको बारेमा मैले लेख्न र देख्न नपाउने पनि कसरी हुन्थ्यो र ? त्यसैले झन लेखिरहन मन लाग्छ ।
अरब भासिउन या अमेरिका, युरोप उँडुन या अष्ट्रेलिया, यो त धेरैका लागि विवशता हो । कोही पनि विनामजबुरी आफ्नो घर परिवार र माटो छोडेर विदेशिँदैन । कसैले देशमा लुटेर परदेशमा पैसा थुपार्छ भने म त्यसको प्रतिनिधित्व गर्दिन, जवाफ कसरी दिऊँ र ?
अमेरिकामा आइफोनको रुख़ नभएजस्तै हरियो डलरको पनि खेती हुँदैन । टपाटप डलर टिप्न पनि पाइँदैन । अमेरिका बसेर कसैको कुरा काटेर डलर फल्दैन । यहाँ त पाखुरा बजाउनुपर्छ, मेहनत गर्नुपर्छ । रातदिन भन्न पाइँदैन । यहाँ नेताको चाकरी गरेर डलर फल्दैन, न त दादागिरी र डनगिरी गरेर नै ।

विदेश पलायन भएर राष्ट्रियता र आदर्शका कुरा गर्यो भन्नेलाई अलि रुखो जवाफ दिन मन लाग्यो, ‘नेपालमा पनि जो मेहनतले काम गर्छन्, तिनीहरुलाई कसैको आलोचना गर्ने फ़ुर्सद छैन । जो सत्कर्ममा लागेर समाजसेवा गर्छन् तिनीहरु पनि कसैको आलोचना गर्दैनन् । आलोचना गर्ने त तिनीहरु हुन् जो बेकामे र अल्छी छन् । भ्रष्ट नेताका बल्छी छन् र राज्यको नून खाएर कार्यालयमा हाई काढेर जनताको काम नगरी फेसबुक चलाउँदै अमेरिका युरोप र अष्ट्रेलिया बसेर फलानाले यति डलर छाप्यो होला भनेर डाहको आहालमा डुब्नेहरु हुन् र अरुको मेहनत देख्न नसक्ने विषवृक्षहरु हुन् । किनकी विदेशमा बस्नेहरु मेहनत गर्छन्, टाट र भाटको राजनीति गर्दैनन्, सहीलाई सही भन्छन् र गलतलाई गलत भन्छन् ।
अझ घरमा थालमा खाएर थालमै चुठेर चौतारोमा बसेर विदेशमा बस्नेले आदर्शको कुरा गर्यो भनेर कुरा काट्नेलाई के थाहा अमेरिकामा हरियो डलर कमाउन ज्यान कति निलो बनाउनुपर्छ भन्ने कुरा ! अमेरिका त एउटा उदाहरण हो । युरोप, अष्ट्रेलिया जापान कोरिया र अरब जता गए पनि पाखुरा बजार्नै पर्छ । हिजो अमेरिका छिरेर खुब आदर्शको कुरा गर्यो भन्नेहरु पनि रातदिन अमेरिकाको सपना देख्दादेख्दै सेताम्मे भएको पनि देखेकै हो । तर ज्यान जहाँ भएपनि दिनरात मन नेपालमै बिछ्याउनेलाई मान्छेहरु किन सत्ते सराप गर्छन् कुन्नि ? विदेशमा श्रम गर्नेले बेइमानीको मानो खादैनन् भन्ने चेत कहिले खुल्ने होला ? हामीले पठाएका गिफ़्टचाहीँ प्यारो हुने, हाम्रा विचारचाहीँ किन दुत्कारेका होलान् ?
अमेरिका/युरोपमा कसैको भनसुन चल्दैन । कालोलाई सेतो बनाउन यहाँ फलामको च्युरा चपाउनु सरह हो । तर नेपालमा मिल्ने काम गराउन पनि भनसुन चाहिन्छ । नमिल्ने काम पनि पहूँचवालाले सजिलै गर्छन् । कर्मचारी भ्रष्ट छन् । कार्यकर्ता भ्रष्ट छन् । पत्रकार भ्रष्ट छन् । नेता महाभ्रष्ट छन् । त्यसैले इमान भएकाहरु जता गए पनि लुटिन्छन्, ठगिन्छन्, अनि अमेरिका नभासिएर के गर्ने त ? सक्नेहरु युरोप, अष्ट्रेलिया र नसक्नेहरु खाडी नपसेर के गरून् ?
हामी कहाँ राजनीति गर्नेहरु ठूला घरानाका व्यापारीहरु भन्दा धनी र सुकिलाहरु छन् । कर्मचारीहरु अकुत सम्पत्तिका मालिक छन् । ग़ैरसरकारी संस्थाका कर्मचारीहरु अघोषित व्यापारीजस्ता छन् । अनि दूरदराजका मान्छेचाहीँ उस्तै ग़रीब र बेरोज़गार ।
दिनमा आधाभन्दा बढी समय लोडसेडिङ हुन्छ । पानी, ग्याँसको हाहाकार, बन्द हड़ताल पार्टीको शान, बन्दमा आफ्नो हातमुख जोर्न काम गर्नेहरु नवएलिटका भिजिलान्ते घोषित हुन्छन् । बाटोघाटो अस्तव्यस्त छ । भनसुनबिना केही नसुनिने अनि शिक्षित बेरोज़गारी र देशमा काम नपाएपछि विदेश नभासिएर के गर्ने ?
अमेरिका, युरोप र अष्ट्रेलियामामात्र होइन नेपालीकै श्रमले बनेका अरबहरुमा समेत प्रविधि छ । सुशासन छ । लोडसेडिङ हुँदैन । सड़क कसैले छुँदैन । त्यसैले अमेरिकनलाई कुनै देश भासिनु पर्दैन । बेलायत, स्विट्ज़रल्याण्डका मान्छेहरु लाहुरे बन्दैनन् । हाम्रो देशमा कि त गफ गर्नेहरु छन् कि त गफलाई विफल गराउन कस्सिनेहरु ।
विदेशिने अरबमा गएका हुन् या अमेरिका गएका हुन्, सबैको कोमल मन हुन्छ । कसैले आफ्ना सारा बालबच्चा, नातागोता र डाँडाकाँडा बोकेर विदेसिँदैन । ज्यान विदेशमा भएपनि मनचाहिँ हरेक क्षण नेपालमै हुन्छ । परदेशीलाई देश दुखिरहन्छ, तर देशको बोझ भएर देशभित्रै बस्दैमा हरर हुँदैन । लेख्नेहरुले विदेशबाटै लेखे हुन्छ, दु:ख देख्नेहरुले विदेशबाटै देखे हुन्छ । लेखेकै छन्, देखेकै छन् । नेपालका भ्रष्टहरुले आफ्नै भकारी भरिरहेको बेला विदेशमा हाडछाला घोटेर श्रम गर्नेहरुको बलले धुर्मुस-सुन्तलीहरुले पूरै बस्ती बनाँउदै छन् । भुईचालो, बाढी, पहिरोजस्ता विपत्तीमा परदेशीहरुले दिल खोलेरै सहयोग गरेकै छन् । देशका धनाढ़्यहरु त अख्तियारलाई धरौटी राख्ने रकम जुटाउनमात्र जानेका छन् ।
विदेशकै रेमिट्यान्सले अर्थतन्त्र अड्याएको छ । विदेशकै रेमिट्यान्सले जनताको चुल्हो बलेको छ । सरकारहरु निकम्मा प्राय: छन् । अनि युवाहरु देशमै बसेर टायर बालेर भ्रष्टहरुलाई धुरी चढाउन ठिक कि परदेश भासिन ठिक ?
हो आफ्नो प्यारो देश छाडेर अरुकालागि पसिना बगाउनु पटक्कै राम्रो होईन । तर अफसोच ! पचास लाख बेरोज़गार थेग्ने देशमा क्षमता छैन । अनि राजनीतिक कार्यकर्ताको हनुमान बनेर कताबाट लुट्न, धुत्न पाइन्छ भनेर पुच्छर बनेको ठिक कि अमेरिका युरोप तथा अरब भासिएको ठिक ?
विदेशिएका नब्बे प्रतिशतभन्दा बढि मान्छेले शारीरिक श्रम गर्छन् । मज़दूरकोजस्तो जिन्दगी हुन्छ उनीहरुको । काम गर्यो पैसा हुन्छ, गरेन हुँदैन । तर पनि परोपकार गरेकै छन् । यहाँ कसैलाई कसैको कुरा काट्ने फ़ुर्सद हुँदैन । वर्षमा एकदुई दिन सार्वजनिकरुपमा भेला हुन्छन् । रमाइलोभन्दा बढी फोटोसेसन गर्छन् । फेसबुक, ट्विटर र ईन्स्ट्राग्राममा पोष्ट गर्छन् ।
यति गरेपछि नेपालमा एउटा कुरा भाइरल हुन्छ: विदेशमा मोज गरेको छ यार फलानाले ! तर, आफन्तको माया नपाएर बिरक्तिएको बेलाको फोटो कसले पोष्ट गर्छ र ? कसले भिजेको सिरानी अंगालो हालेर फोटो पोष्ट गर्छ र ? चाडबाडमा मन अमिलो पारी-पारी काममा गएको देख्ने को हुन्छ र ?
विदेशमा त आइफ़ोन र डलरको पनि रुख नै हुन्छ, भन्छन् मान्छेहरु । नेपालमा करोडौको पुर्ख्यौली जग्गा हुनेहरु, सानदार गाडी चंढ्नेहरुले पनि विदेशमा मरिमरि कमाएर बैंकमा राखेको दुईचार लाख पनि सित्तैमा चलाउन खोज्छन् । विचारा जसको एउटा ओत लगाउने घर नभएर जहान केटाकेटी भाडामा बस्छन् । विदेश बसेको भनेपछि जग्गा दलालले ठग्ने, बैंकले ठग्ने, व्यापारीले ठग्ने, आफन्तले ठग्ने, अझ कोशेली नपाएको झोकमा ठुस्स पर्ने सबैको बारेमा त के लेख्नु र खोइ ? ल्यापटप र आइफोनभन्दा सानो माग हुँदैन माग्नेहरुको । तर यहाँ हरियों डलरको खेति कतै भेटिँदैन । सबैलाई त चकलेटसम्म त पुर्याउन सकिँदैन, ल्यापटप-आइफोन कुन खानीबाट निकाल्नु !
यसो भन्दैमा नेपालभन्दा अमेरिका, अष्ट्रेलिया, युरोप ठिक भन्ने भान पर्ला, तर देशले युवा थेग्न नसक्ने, कर्मचारी र नेताले केही गर्न नसक्ने भएपछि मान्छेहरु विदेश नभासिएर के गर्नु र ? देश बनाउने कर्मचारीले हो । राजनीतिज्ञले हो । तर तिनीहरु आफैँ कि त घुसखोरी, कालाबाजारी कि त रक्सी बियर, कि त डिभी/पिआरमा छन् ।
फेरि विदेशिने युवाहरु देश लुटेर विदेशिएका होइनन्, दुखेर विदेशिएका हुन् भन्ने कुरा कहिले बुझ्ने होलान् मान्छेहरुले ? बरु देश बनाउन विदेशबाटै भए पनि लेख्न सक्नेले लेख्दै गरौँ, देख्न सक्नेले सहयोग गरौँ, देशमा बस्नेले रेमिट्यान्सको सदुपयोग गरौँ, पेशा व्यवसाय गरौँ, राम्रा मान्छेले राजनीति गरौँ । बरु विदेशमा बस्नेले नेपालमा डन र गुन्डा नपालौँ, भ्रष्ट नेताको सपोर्टमात्रै गरेर ईज्जत नफालौँ । देश समृद्ध भएपछि कोही पनि विदेश जाँदैन, बस्दैन । अमेरिकनहरु अरु देशमा बसाइँ सरेको देख्नु भएको छ र ? अब देशलाई अमेरिका बनाउन के गर्ने भनेर सोच्ने कि विदेशिएकाहरुको खेदो खनिरहने ?
सरगम भट्टराईले साथीलाई लेखेको चर्चित चिठ्ठी पनि पढ्नुहोस्,
No comments:
Post a Comment