खन्ने वा ढुङ्गा छाप्ने काम भए पनि कसरी स्थायी हुने, कसरी अलिक ढुक्कको जीवन निर्वाह गर्ने र कसरी आफूजस्तै अरू नेपालीको हितमा उभिने भन्ने ध्याउन्न साइँलाका मनमा गढिरहन्थ्यो । काम थालेको १० वर्षमा साइँला स्थायी भए, कानुनी लडाइँ लड्नासाथै साइँलाजस्तै अरू थुप्रै नेपाली पनि स्थायी भए । ‘नेपाली नागरिकताका भरमा जागिर पाएको र खाएको भनेर हेप्न कहाँ पाइन्छ र ?’ साइँलाले झिकेको कानुनी–तरक्की थियो, ‘भारतीय फौजी (गोर्खा रेजिमेन्ट) मा नेपाली नागरिकताकै भरमा हजारौं नेपालीले काम पाएका छन्, उनीहरूको पेन्सन पाकेको छ भने अरू काममा त्यही नागरिकता किन नचल्ने ?’ नभन्दै सन् १९५० को मैत्री सन्धिको ‘समान हक–अधिकारको सूत्र’ र गोर्खा फौजको भर्ती कुरोले राज्य अदालतमा पनि नेपाली कामदारकै जित भयो । यो जितको सूत्रधार बनेर उभिएका वकिल अश्विनीकुमार गुप्ताले नेपालीका निम्ति नसोचेको साथ/सहयोग दिलाए । यसरी सन् २००५ मा फेरि पीडब्लुडीका झन्डै ४ सय नेपाली कर्मचारी फेरि स्थायी भए । साइँलाका अनुसार, पीडब्लुडीअन्तर्गत अहिले कुल्लु जिल्लामा मात्रै ३ सय ९० र पूरै हिमाञ्चलमा ८ सय ५० नेपाली कामदार स्थायी छन् । यही अड्डामा साइँला अहिले ‘मेड’ (अह्राइखटाइ गर्ने सडक निर्माण हाकिम) बनेका छन् भने उनकी श्रीमती पनि स्थायी लेबर छिन् । साइँला पीडब्लुडीले दिएको सरकारी क्वार्टरमा बस्छन् भने अबको केही वर्षमा पेन्सन–भत्ता थाप्दै तेम्बाथाङ गाउँतिरै फर्कने योजना बुनिरहेका छन् । ... साइँला अहिले मनालीको मालरोडस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार छन् । स्थानीय नगर प्रशासन र हिमाञ्चल राज्य सरकारसमेतको समर्थनमा नेपाली समाजले दुई वर्षयता राज्यमा आउने नेपाली नागरिकताधारीको जनगणना थालेको छ । कुल्लु, मनाली अथवा सिंगो राज्यमा रहेका नेपालीले समाजको अफिसमा आएर पञ्जीकरण गराउन सक्छन्, पञ्जीकरणपछि नगरपालिकाले दिने परिचयपत्र लिएर ढुक्कसँग नेपाली कामदार हिंडडुल गर्न सक्छन् । ‘यहाँ भारी बोक्ने काम होस् अथवा स्याउ टिप्ने र आलु/मटर रोप्ने काम नै किन नहोस्,’ उनले भने, ‘समाजमा दर्ता नभई न अस्थायी रासन कार्ड झिक्न सकिन्छ, न चरित्रको प्रमाणपत्र । यसका लागि नेपाली नागरिकता अनिवार्य गरेका छौं ।’ साइँलाका अनुसार हिमाञ्चलमा सिजनल रूपमा ३ महिनाजति स्याउ टिप्ने आउने नेपालीको संख्या ७ सय जति हुन्छ भने लाहुल जिल्लामा आलु/मटर रोप्न जाने र लेहमा घर बनाउने जाने डकर्मी पनि उत्तिकै हुन्छन् । साइँलाका अनुसार मनालीमा मात्रै ४ सयजना भरिया दर्तामा छन्, यसबाहेक २ हजारभन्दा बढी नेपालीको पञ्जीकरण भइसकेको छ । यसो भन्दैमा यो दोहोरो नागरिकता र पहिचान दिलाउने ‘पञ्जीकरण’ अभियान पनि होइन । परदेश बसिन्जेल अस्थायी हैसियतको रासन वा आधारकार्ड बनाउन अदालतले दिएको आदेशमा नेपाली नागरिकको पञ्जीकरण यहाँ थालिएको हो । ‘३ महिनादेखि ६ महिनासम्म काम खोज्दै भरिया बन्न वा स्याउ टिप्न आउने नेपालीका लागि दिने अस्थायी परिचयपत्रको कामले एकैसाथ नेपालीको जनगणना पनि भइरहेको छ,’ साइँला भन्छन् । त्यसमा पनि यी सबै पहिचानहरूमा ‘मूल नेपाली’ लेखिएकै हुन्छ, नेपाली दूतावास अथवा सरकारको निकायले आफ्नो नागरिकको स्थिति पहिचान गर्न/गराउन थाल्नुपर्ने काम हिमाञ्चलमा सुरु भएको दृष्टान्त आफैंमा उदाहरणीय छ— यस कामले पनि साइँलाको नाम राज्यमा चिनिएको छ । ‘हामीले पाउनुपर्ने हक, अधिकार अथवा पहिचान दिनमा ढिलाइ गरेको सुइको पाउनासाथ हामी अदालत गइहाल्छौं,’ उनी भन्छन्, ‘यसकारण साइँलाको जरुरी काम भनेपछि अल्झाउने, पन्छाउने कुरै हुन्न ।’ मनाली छँदै, आँखैसामु साइँलाले फत्ते गराएको कामको उदाहरणसमेत देख्न पाइयो । दोलखा, सैलुङ–२ का ३९ वर्षे टेकबहादुर तामाङ हिमाञ्चलबाट चीन जोड्ने सुरुङमार्ग (रोथाङ टनेल) मा गाडीचालक थिए । गत वर्ष अक्टोबर अन्तिम सातामा सुरुङमार्गमा भएको दुर्घटनामा परेर तामाङको ज्यान गयो । तैपनि न क्षतिपूर्ति, न राज्यकोष सहयोगको अवस्था बनिरहेका बेला साइँलाकै पहलमा एकता समाजले राज्य अदालतमा मुद्दा हालेपछि गत साता मात्रै मृतक टेकबहादुरका परिवारले क्षतिपूर्ति पायो । टेकबहादुरकी श्रीमती कार्मी शेर्पा र उनीहरूका ३ छोराछोरीले राज्य तहबाट जनही १ लाख रुपैयाँ क्षतिपूर्ति रकम पाएका छन् भने टनेल कम्पनीले पनि नियमअनुसारको रकम दिइसकेको छ । साइँलाले दिएको साथ, सहयोग र सद्भावका निम्ति श्रीमती कामी शेर्पाले एकता समाजमा आएका सबैलाई चिया–कफी ख्वाउँदै सुनाइन्, ‘साइँला बडा नभाको भए खोइ के पो हुन्थ्यो होला र ? धन्नेबाद है, साइँला लामा ।’ ... साइँलाले ३० वर्षे उमेरमा बिहा गरे । चार छोराछोरी भए । मनालीमै तिनलाई पढाए, बढाए । आफूले नपढेपनि छोराछोरीलाई क्याम्पस तहको पढाइमा उनले पुर्याएका छन् । ‘अब धेरै वर्ष छैन यता, छोराछोरी लिएरै म गाउँ तेम्बाथाङ जान्छु,’ साइँलाको योजना छ, ‘छोरीलाई नजिकै सरकारी स्कुलमा मास्टर बन्न लगाउँछु, छोराले गाउँमै ट्र्याक्टर चलाएर अथवा सडक बनाउने ठेकेदारी गरेर गरिखान्छ ।’ सिन्धुपाल्चोक राजधानी चौताराबाट ३ दिन टाढा पैदलको आफ्नो गाउँ सम्झनासाथै साइँला हुरुक्क हुन्छन् । पोहोर भुइँचालो आउनासाथै सकेको राहत बोकेर गाउँ पुगे भने अघिल्लो महिना मात्रै सिंहदरबार छिरेर मन्त्रीहरूलाई भेट्दै आफ्नो गाउँको अविकासबारे आवाज उठाए । सिंहदरबार छिर्नुको किस्सा पनि उस्तै छ, साइँलासँग । गाउँबाट कांग्रेस, एमाले, माओवादीसहितका नेतालाई भेला गरेर उनी सिंहदरबार पुगेछन् । कसोकसो प्रवेश अनुमति लिएर सुरुमै गृहमन्त्री शक्ति बस्नेतको अड्डासामु पुगेर ‘मन्त्री भेट्न आएको’ सन्देश पठाएछन् । स्वभावत: मन्त्रीका गार्डदेखि निजी सहायकले साइँलालाई रोक्ने नै भए । ‘भन्दिनु, माथि तेम्बाथाङबाट साइँला लामाको पार्टी आएको छ भनेर,’ साइँलाले हक्की बनेर भनेछन् । नभन्दै छिनभरमै भित्रबाट बोलावट आयो, अनि साइँलाले आफ्नो कथा–ब्यथा गृहमन्त्रीसामु सुनाउन भ्याएछन् । त्यही साइतमा सिंहदरबारमा उनले उपप्रधानमन्त्री चित्रबहादुर केसीदेखि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्मलाई भेटेर तेम्बाथाङ् गाउँलाई नेपाल सरकारले हेला गरेकोमा गुनासो सुनाउन भ्याएका थिए । ‘सबै मन्त्रीले हुन्छ, हामी हेर्छौ भनेका छन् । हेरौं, अब के–कस्तो हेर्ने रहेछन्,’ थोरै मात्रै आशावादी बन्दै साइँलाले सुनाए । अब भने आफ्नै गाउँठाउँबाट दुईपटक सांसद बनेका नेता (अहिले वनमन्त्री) अग्नि सापकोटालाई भेट गर्ने इच्छा उनको छ । ‘साह्रै हेपेका छन् हाम्रो तेम्बाथाङलाई । अब भने अग्नि सापकोटासँग ‘टेबल–टकिङ’ गर्नु छ,’ उनले अर्को योजना सुनाए, ‘सुनौंला न, के भन्ने रहेछन् ।’ साइँलाको बुझाइमा, बितेको ३५ वर्षमा हिमाञ्चलमा आउने नेपालीहरू निकै कम मात्रै यतै अडिएका छन् भने धेरै आफ्नै घरतिर फर्किसकेका छन् । अनि आफ्नै जिन्दगीचाहिँ कस्तो लाग्छ त उनलाई ? यो जिज्ञासा राख्नासाथै साइँला मुस्कुराए । हिउँ झर्नैै लागेको मनाली, मालरोडको घुमाउने चौतारीमा बसेरै साइँलाले यसो जीउ मर्काई हेरे । ‘खोइ हओ पत्रकार भाइ, यो जिन्दगी भन्नु चुइगमजस्तो रैछ,’ सुनाए, ‘प्रेमिका, श्रीमती, सम्पत्ति सबै चुइगमजस्तै लाग्न थाल्यो अब त । गुलियो भने कहिले हो कहिले सकिइसको, तैपनि चबाउनै परो । अब त रस आउन पनि छाडिसक्यो, तैपनि खोस्टो चपाइरहेकै छु ।’ प्रकाशित: वैशाख १८, २०७३ सम्बन्धित हिमालमा गाइड जिन्दगी असार ४, २०७३ पूरा पढ्नुहोस् जसको जिन्दगी सहज छैन वैशाख २८, २०७३ पूरा पढ्नुहोस् हाईफाई जिन्दगी फाल्गुन २५, २०७२ पूरा पढ्नुहोस् सागर थापा भन्छन्, 'जिन्दगी नै सकिने भो’ मंसिर २०, २०७२ पूरा पढ्नुहोस् दुबोजस्तै बनोस् जिन्दगी ! कार्तिक २६, २०७२ पूरा पढ्नुहोस् आँसुले भिज्यो जिन्दगी श्रावण १६, २०७२ पूरा पढ्नुहोस् तपाईको प्रतिक्रिया कमेन्टको लागि यहाँ click गर्नुहोस् सम्बन्धित हिमालमा गाइड जिन्दगी असार ४, २०७३ पूरा पढ्नुहोस् जसको जिन्दगी सहज छैन वैशाख २८, २०७३ पूरा पढ्नुहोस् हाईफाई जिन्दगी फाल्गुन २५, २०७२ पूरा पढ्नुहोस् सागर थापा भन्छन्, 'जिन्दगी नै सकिने भो’ मंसिर २०, २०७२ पूरा पढ्नुहोस् दुबोजस्तै बनोस् जिन्दगी ! कार्तिक २६, २०७२ पूरा पढ्नुहोस् आँसुले भिज्यो जिन्दगी श्रावण १६, २०७२ पूरा पढ्नुहोस् तपाईको प्रतिक्रिया कमेन्टको लागि यहाँ click गर्नुहोस् अर्को समाचार आहारा ! › कान्तिपुरका स्तम्भहरु अन्य अर्थ / वाणिज्य आईसीसी यू–१९ विश्वकप एनअारएन सम्मेलन विशेष कला कुराकानी खेलकुद गन्तब्य जीवनशैली देश नेपाली कांग्रेस महाधिवेशन प्रवास फिचर फोटोफिचर ब्लग भिडियो मनोरञ्जन रोचक विचार/विश्लेषण विश्व समाचार साहित्य/विविध सूचना प्रविधि स्वास्थ्य हाम्रो नेपालमा हाम्रो बारेमा यो वेवसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ। पूरा पढ्नुहोस् » विज्ञापन इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला» छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला» सल्लाह सुझाब तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला। » सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +९७७-०१-५१३५००० +९७७-०१-५१३५००१ सम्पर्क गर्नुहोस्» A member of ekantipur © Copyright Kantipur Digital Corp Designed and Developed by
http://kantipur.ekantipur.com/news/2016-04-30/20160430124750.html
http://kantipur.ekantipur.com/news/2016-04-30/20160430124750.html
http://kantipur.ekantipur.com/news/2016-04-30/20160430124750.html
http://kantipur.ekantipur.com/news/2016-04-30/20160430124750.html
No comments:
Post a Comment